काठमाडौं। ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिहेको आयोजनाको काम हालसम्म ७२ प्रतिशत सम्पन्न भएको हो।
आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ। भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको बाँधमा ब्यारेज, ६ हजार २७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माणको काम सकिएको छ।
मुख्य सुरूङको चार वटा अडिटबाट शुक्रबारसम्म दुई हजार २४३.८ मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको छ।
सिभिलतर्फ ७२ र इलेक्ट्रोमेकानिकलतर्फ ३० प्रतिशत प्रगति भएको छ। आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मंसिर महिनामा ठेक्का सम्झौता भएको थियो। ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ।