सुर्खेत। कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आठ सय बढी योजना कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा बजेट विनियोजन भएका ८ सय ७८ योजना कार्यान्वयनमा लगेको हो।
मन्त्रालयले यो वर्ष १ हजार १ सय ३३ योजनामध्ये झण्डै ७७.५ प्रतिशत योजना कार्यान्वयनमा लगेको हो । मन्त्रालयले आइतबार र सोमबार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा खानेपानी, सिॅचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित १० जिल्ला कार्यालयहरूले गरेका योजनाहरूको समिक्षा गरिएको छ । जसअनुसार चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकामध्ये झण्डै ४९ प्रतिशत योजनाको उपभोक्तासॅग सम्झौता भएका छन् । त्यसमध्ये पुस मसान्तसम्म ४२ योजना सम्पन्न भइसकेको छ ।
दोस्रो त्रैमासिकसम्म ५ सय ५७ योजना सम्झौता भएको छ । उनका अनुसार मन्त्रालयले अहिलेसम्म ३५ प्रतिशत भौतिक प्रगति गरेको छ । यो वर्ष मन्त्रालयका लागि २ अर्ब ८६ करोड ४८ लाख १६ हजार बजेट विनियोजन भएकोमा अहिलेसम्म २३ करोड ४९ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा क्रमागततर्फ २५ योजना कार्यान्वयनमा छन् भने यो वर्ष बजेट विनियोजन भएका ८४ मध्ये ४६ योजनाको ठेक्का सम्झौता भएको छ ।