काठमाडौं। सरकारी वार्ता टोली र ‘नो केबलकार समूह’बीचको वार्ता आज ११ बजे बस्ने भएको छ। ललितपुरमा रहेको होटल हिमालयमा हिजो पहिलो पटक भएको छलफल आज फेरि बिहान ११ बजेदेखि गर्नेगरी बस्ने भएको हो।
संघीय सरकारका प्रतिनिधि र आन्दोलनरत समूहले हिजो पहिलोपटक छलफल गरेका हुन् । पहिलो चरणमा आन्दोलनका क्रममा पक्राउ परेका तीन जनाको रिहाइ, निर्माण कार्य स्थगित र आन्दोलनका कार्यक्रम फिर्ताको विषयमा छलफल भएको थियो । सरकारी वार्ता टोली प्रहरी नियन्त्रणमा रहेका तीनजना बन्दी रिहा गर्न तयार भए पनि निर्माण कार्य स्थगन गर्न तयार नभएपछि हिजो सहमति नभएको हो ।
यता आन्दोलनरत समूहले यातायात बन्द जारी राखेको छ। आन्दोलनका अगुवामध्येका एक नवीन पोमुका अनुसार वार्ता चलिरहेकाले यातायात बन्दको कार्यक्रम यथावत राखिएको हो ।