म्याग्दी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने बताएका छन्। बेनी नगरपालिका–४ सिङ्गा र तातोपानीमा आज विहान आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका छन् ।
उनले भने, छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ। त्यसबेला यहाँहरूले उठाउनुभएको बेनी–दरवाङ–ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौँ ।
पूर्वप्रधानमन्त्री दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको दुई करोड बजेटबाट १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गरे ।
उनले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान), सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिङ्गा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए ।