काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार मन्त्रालयका विभागीय प्रमुख एवं आयोजना प्रमुखलाई निर्देशन दिँदै मन्त्री दाहालले बाढी पहिरोले क्षतिग्रस्त बनाएका सडकमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरी काम थाल्न निर्देशन दिए ।
मन्त्री दाहालले भने, ‘हामीले विभिन्न माइलस्टोन कायम गरेका छौं, तिनको उपलब्धिबारे समीक्षा गर्नुहोला। अहिले सबैभन्दा बढी काम गर्ने बेला हो, यसको अधिकतम उपयोग गरी लक्ष्य हासिलतर्फ लाग्न आवश्यक छ ।’
सडक एवं पुल निर्माणका लागि बाँकी ठेक्का लगाइसक्न सडक विभागलाई निर्देशन दिँदै उनले रुग्ण आयोजना व्यवस्थापनतर्फ लाग्न समेत आग्रह गरे ।
सवारी चालक अनुमतिपत्र वितरण प्रदेश स्तरबाटै प्रभावकारी बनाउन आवश्यक समन्वय गर्न यातायात व्यवस्था विभागलाई मन्त्री दाहालले निर्देशन दिए ।