काठमाडाैं । सरकारले चालू आव ०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान १ खर्ब ६७ अर्ब रुपैयाँले घटाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेट समीक्षा प्रस्तुत गर्दै बजेटको आकार घटाएका हुन्।
चालू आवमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकामा अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान छ। यो रकम शुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो।
चालूतर्फ १० खर्ब २९ अर्ब ३० करोड रुपैयाँ अर्थात् विनियोजनको ९० दशमलव २४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख रुपैयाँ अर्थात विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख रुपैयाँ अर्थात् विनियोजनको ९९ दशमलव ०९ प्रतिशत खर्च हुने अनुमान छ।
चालू वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १४ खर्ब ७५ अर्ब २६ करोड ८२ लाख रुपैयाँ, वैदेशिक अनुदानतर्फ ३६ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ र वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान रहेको छ।
अर्थमन्त्री पौडेलका अनुसार अर्धवार्षिक समीक्षा अवधिमा प्रदेशलाई ३४ अर्ब ८९ करोड २२ लाख रुपैयाँ र स्थानीय तहलाई १ खर्ब ५० अर्ब २६ करोड ८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ।