काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धि गरेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योग मन्त्री भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य नबढाएको दाबी गरेका हुन् ।
उनले सांसदहरूले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरूलाई दिएको दाबी गरे । उद्योगमन्त्री भण्डारीले विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय नभएको बताए ।
सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान उनले उद्योगको लागत मूल्यांकन गर्ने गरी समिति बनाएको बताए । उनले सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताए ।
उनले सरकारले उद्योग जोगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको बताए ।
घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने भन्दै उनले सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यवसायीहरूसँग यस विषयमा छलफल गरेको बताए ।