काठमाडौं। विद्युतीय राहदानी खरिद प्रक्रियामा बोलपत्र पेस गर्ने म्याद थप भएको छ।
विद्युतीय राहदानी खरिद प्रक्रियामा प्रश्न उठिरहेका बेला राहदानी विभागले बोलपत्र पेस गर्ने म्याद फेरि थपेको हो ।
पहिलो पटक ४५ दिनको समय दिएर बोलपत्र आह्वान गरेको विभागले दोस्रो पटक ३० दिन थपेको थियो । दोस्रो पटक तोकिएको म्याद मंगलबार सकिँदै थियो । फेरि म्याद थपपछि इच्छुक कम्पनीले फागुन ९ सम्म बोलपत्र बुझाउन सक्नेछन् ।
विभागले विद्युतीय राहदानीको ६४ लाख प्रति खाली पुस्तिका खरिदका लागि मंसिर १३ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । पुरानै फ्रान्सेली कम्पनी आइडेमियालाई ठेक्का दिने योजनासहित सर्त तोकिएको भन्दै प्रश्न उठेपछि विभागले सर्त संशोधन गर्नुका साथै ३० दिनको म्याद थप गरेको थियो ।