काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालको समृद्धिका लागि कोसेढुंगा भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका पदाधिकारीहरुसँग भएको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘भारत र बंगलादेशसँग मैले धेरै नै मिहिनेत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो। हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायत देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’
भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।
त्यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने प्रचण्डले बताए । तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी समेत उनले गरे ।
आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुने गरी अध्यादेश ल्याए पनि अदालतले रोकेको उनले बताए ।