काठमाडौं। उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गरिने भएको छ। मङ्गलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई उक्त रंगशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।
प्रदेश सरकारको निर्णयअनुसार चालु आर्थिक वर्ष २०८१–८२ का लागि तीन करोड बजेट विनियोजन गरेको थियो । अब उक्त बजेट प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निकासा गर्दै निर्माण कार्यलाई अघि बढाइने छ । यसअघि, सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको उक्त आयोजना हालै गठन भएको युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरिएको थियो ।
रंगशाला निर्माण स्थल वन क्षेत्रमा पर्ने भएकाले नेपाल सरकार मन्त्रिपरिषद्ले गत असोज १८ गते वन क्षेत्र प्रयोग गर्ने स्वीकृति प्रदान गरेको थियो । हाल निर्माण प्रक्रियालाई अघि बढाउन प्रदेश सरकारको मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिअनुसार आवश्यक बजेट व्यवस्थापनको निर्णय लिएको हो ।