उदयपुर। जिल्लाको त्रियुगा नगरपालिका–७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको छ। बारा जिल्लाबाट विवाहको जन्ती लिएर गाईघाट तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६—००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट कटारी तर्फ जाँदै गरेको ना ८ ख २४०४ नम्बरको मिनिट्रक शुक्रवार बिहान २ः३० बजे ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बारा जिल्लाको गढी गाउँपालिका वडा नं ४ का ७० वर्षीय सिताराम धामीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दुर्घटनामा घाइते भएका २० जनाको उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको तथा गम्भीर घाइते भएका पाँच जनामध्ये उदयपुर जिल्ला अस्पतालमा दुई र न्युरो अस्पतालमा तीनको उपचार भइरहेको छ ।