काठमाडौं। निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरुको सुरक्षाको पूर्ण प्रत्याभुतिको माग गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीहरू माथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो।
फागुन ८ गते एकदुम्जा/मरिनखोला/कपिलकोट/लालबन्दी सडक, सिन्धुलीको निर्माण कार्यस्थलमा महासंघको साधारण सदस्य काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा आबद्ध श्रीजयन्ती/विरुवा ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहबाट हातहतियार सहित आक्रमण गरी सख्त घाइते बनाइएको घटनाको सन्दर्भमा महासंघले सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ।
महासंघले उक्त आक्रमणमा संलग्नलाई तत्काल कानूनी कठघरामा ल्याई कार्वाही गरी, पीडितलाई क्षतिपूर्ति दिन तथा देशभरका निर्माण व्यवसायीहरू सहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन समेत माग गरेको छ। महासंघले निर्माण व्यवसायीहरूमाथि हुने यस किसिमका दण्डनीय अपराधमा संलग्नलाई कार्वाही नगरिए महासंघ देशभरभका निर्माण कार्य ठप्प पारी पेशागत सुरक्षाका लागि आन्दोलनमा उत्रन समेत बाध्य हुने चेतावनी समेत दिएको छ।