म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा एउटा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ तर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको हो।
नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको उक्त भ्यान सडकदेखि करिब १५० मिटर तल कालीगण्डकी किनारमा खसेको हो।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। दुर्घटनामा परी सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीले जनाएको छ। दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।