काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ। प्राधिकरणले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको हो।
सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशनं) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रूपैयाँ आम्दानी गरेको छ।
विद्युत खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरू लगायतमा जम्मा ५९ अर्ब आठ करोड रूपैयाँ खर्च गरिएको छ।
यसरी, चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा ११ अर्ब ३६ करोड रूपैयाँ हुने प्राधिकरणले जनाएको छ।
आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ।