काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाको गौशालामा दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् ।
बैंक वित्तीय संस्था, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि लगायतका क्षेत्रमा संलग्न हुँदै आएका ढकालले ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ को नाममा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् ।
नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको अध्यक्ष ढकाल बताउँछन् । २०७८ मा शिलान्यास भएको उद्योगले निर्माण सकिएसँगै केही समयअघि उत्पादन सुरु गरेको छ ।