काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ ।
बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको हो।
अवार्ड ग्रहण गरेपछि मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताए । उनले भने, “पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्न पाउनु खुसीको कुरा हो । यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मेहनत गरिरहेका सम्पूर्ण सरोकार भएका निकायको सम्मान हो । नेपालको पर्यटन सधैँ नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ । यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा काम गर्न प्रेरित गरेको छ ।”
मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेको समेत बताए ।
सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ ।