काठमाडौं। ९०० मेगावाट क्षमताको माथिल्लो कर्णालीमा भारतले लगानी गर्न अस्वीकृत गरेको छ। भारतको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया) ले माथिल्लो कर्णालीमा ५ प्रतिशत स्वपुँजी लगानी गर्ने भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी ९इरेडा० को प्रस्ताव अस्वीकृत गरिदिएको हो ।
इरेडाले भने भारतको केन्द्रीय बैंकमा पुनः आवेदन पेस गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फागुन २३ मा भारतको केन्द्रीय बैंकले अस्वीकृत गरेको निर्णयपत्रमार्फत इरेडालाई जानकारी गराइएको सञ्चारमाध्यममा उल्लेख छ ।
२०२४ जुलाई १६ मा बसेको इरेडाको सञ्चालक समिति बैठकले भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले पाएको माथिल्लो कर्णालीमा १० प्रतिशतसम्म स्वपुँजी लगानी गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो । तर भारतको केन्द्रीय बैंकले माथिल्लो कर्णालीमा स्वपुँजी लगानी गर्ने इरेडाको प्रस्ताव अस्वीकृत गरेपछि नेपालमा वित्तीय व्यवस्थापन के हुन्छ भन्ने प्रश्न उठेको छ ।
इरेडाले जीएमआर, भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास निगम (एसजेभीएन) र नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त उपक्रम ९जेभी० सम्झौता भएको भन्दै गत माघ ३ मा प्रेस विज्ञप्ति जारी गरेको थियो । जीएमआरले गत माघ २ मा वित्तीय व्यवस्थापनसँग सम्बन्धित कागजात लगानी बोर्डमा बुझाएको थियो । माथिल्लो कर्णालीमा इरेडा ६५ अर्ब भारु कर्जा लगानी गर्न सकारात्मक रहेको र नेपाली बैंकहरूको समूहले २० अर्ब रुपैयाँ कर्जा लगानी गर्न सैद्धान्तिक सहमति दिएको भन्दै जीएमआरले लगानी बोर्डमा कागजात बुझाएको थियो । स्रोत इकान्तिपुर