काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशमा भएका विकास निर्माणलाई अनुगमन तथा नियमनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विकास निर्माणका काम अनुगमन तथा नियमन र मूल्यांकनका लागि कानुन निर्माणका लागि सहमति दिएको हो ।
बैठकले प्रदेश अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएको प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री श्याम खड्काले बताए । उनका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मूल्यांकन नहुँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो ।
बैठकले जग्गा उपभोग सम्बन्धमा भक्तपुरमा रहेको ७ रोपनी ७ आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने र भक्तपुर नखेल–१ को नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी मध्ये ५ रोपनी जनस्वास्थ्य प्रयोगशाला काभ्रेका कार्यालय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ को नेपाल सरकारको नाममा दर्ता कायम रहेको १२ रोपनीमध्ये ७ रोपनी जग्गा प्रशासनिक कार्य संचालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने गरी यातायात कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ।