सल्यान। सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–३ ढुंगीबजार नजिकै सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न माग गरिएको छ। क्रसरले ध्वनि, वायु प्रदूषण फैलाउनुका साथै स्थानीयको स्वास्थ्यमा असर पार्न थालेको भन्दै स्थानीय, बजार व्यवस्थापन समिति र राजनीतिक दलले संयुक्त रुपमा उक्त क्रसर बन्द गर्न माग गरेका हुन्।
उनीहरुले जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, गाउँपालिका र वडा नं ३ को वडा कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै जिल्ला प्रहरी प्रमुख केशरकुमार न्यौपानेले उक्त क्रसर उद्योगविरुद्धको उजुरी गृह मन्त्रालयसम्म पुगेको तर कुनै निर्देशन नआएको बताए । जथाभावी नदी दोहन नियन्त्रणको काम प्रहरीको भएकाले सोही अनुसार स्थानीय प्रहरीलाई निर्देशन दिइएको उनको भनाइ छ ।
बालुवा वासिङ कम्पनीको नाममा दर्ता गरेर बगेश्वरी एग्रो प्रालिले राजनीतिक संरक्षणमा ढुंगीबजार नजिकै क्रसर उद्योग सञ्चालन गरेको र मापदण्डविपरीत डोजर प्रयोग गरेर शारदा नदी दोहन गरेको स्थानीय तथा दलका नेताको आरोप छ । क्रसर उद्योग बस्तीदेखि ५ सय मिटर टाढा हुनुपर्नेमा करिब १ सय ५० मिटरको दुरीमा रहेकाले नजिकैका दुई विद्यालय, प्रसूति गृह, दुई सामुदायिक वनमा प्रत्यक्ष असर पुगेको उनीहरुको भनाइ छ ।