काठमाडौं । सरकारले ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तारमा प्राथमिकता दिएको छ। अमेरिकाको वासिङटन डीसीमा आयोजित ‘यातायात मार्फत ‘रुपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तारलाई सरकारले प्राथमिकता दिएको बताएका हुन्।
उनले नेपालको पर्यावरणीय विविधता अनुकूलन हुने गरी सडक सञ्जाल तथा यातायात विस्तारमा सरकारले प्राथमिकता दिएको बताए। सहश्राब्दी विकास लक्ष्य हासिल गर्न सघाउ पुग्ने गरी सडक सञ्जाललाई कृषिको व्यावसायीकरण, आधुनिकीकरण, पर्यटन प्रवर्द्धन समेत हुने गरी विकास अघि बढाइएको मन्त्री दाहालले दाबी गरे ।
देशका ग्रामीण क्षेत्रमा मूल आधारभूत सडक सेवा विस्तार गर्ने, पहिले नै निर्माण भइसकेको सडकलाई सवारीसाधन सञ्चालन लागत न्यूनतम राख्न सकिने गरी कायम राख्ने र सम्भाव्यता अध्ययनका आधारमा छोटा सडक सञ्जाल, स्तरोन्नति र विस्तार गरेर व्यवस्थित सडक सञ्जाल अभिवृद्धि गर्नेतर्फ नेपाल सरकारले ध्यान दिएको मन्त्री दाहालको भनाइ छ ।
नेपालले सडक सञ्जाल विकास गर्न सबै पालिका केन्द्र, व्यवसाय र सेवा केन्द्रलाई सडक पहुँचमा ल्याउने, ग्रामीण पहुँच विकासका लागि स्थानीय प्रविधि र स्रोत लागु गर्ने, प्रकृतिमा आधारित बायोइन्जिनियरिङ प्रवद्र्धन गर्नसमेत ध्यान दिएको बताए ।