काठमाडौं। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुनाथ काफ्लेलाई नियुक्त भएका छन्। बुधबार गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुनाथ काफ्लेलाई नियुक्त गरेको जानकारी दिएका हुन्।
त्यसैगरी सरकारले अनुचित लेनदेन (मिटरब्याज)अपराध नियन्त्रणका लागि सुझावसहित प्रतिवेदन बुझाउन बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । उक्त जाँचबुझ आयोगको सदस्यहरुमा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराईलाई सरकारले नियुक्त गरिएको छ।
बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू-सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालन उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौंका लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गरेको छ भने गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।