काठमाडौं। कान्ति बाल अस्पताल भवन पुनर्निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिइएको छ। बुधबार गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले कान्ति बाल अस्पताल भवन पुनर्निर्माण कार्यलाई विशेष परियोजनाको रूपमा कार्यान्वयन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन्।
त्यसैगरी बैठकले भागीरथी भट्टराई ज्ञवालीलाई विद्युत नियमन आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा फाइन्द्रराज पाण्डेलाई नियुक्त गरिएको छ ।
त्यस्तै जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वन तथा वातावरण मन्त्रालयका प्राविधिक तर्फका सहसचिव डा बुद्धिसागर पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न खटाउने निर्णय भएको छ ।
बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पनि सहमति प्रदान गरेको छ ।