म्याग्दी। म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुपका क्षेत्रमा रहेको स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाइने भएको छ। गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्थानीयले आफ्नो जग्गामा भएको स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका हुन्।
उनीहरुले स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउनले पालिकाले जनाएको छ। रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो ।
यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीयको भनाइ छ।