काठमाडौं। ताप्लेजुङमा निर्माणाधीन केबलकारको विषयमा छलफल गर्न नो केबलबार समूहलाई वार्तामा बोलाइएको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको हो।
आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ अन्तर दलीय सङ्घर्ष समिति ताप्लेजुङका प्रतिनिधिलाई तत्काल वार्तामा आउन आग्रह गरिएको छ।
केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो। यस अघि फागुन ९ गते र फागुन १२ गते पनि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो।
आन्दोलनरत समूहले भने मन्त्रिस्तरीय वार्ता समिति निर्माण गरी आधिकारिक आह्वान पत्राचार गरिनुपर्ने, पक्राउ परेकाको रिहाइ, निर्माणकार्य बन्द, पाथीभरा क्षेत्रबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता हुनुपर्ने माग यसअघि गरेका थिए। उक्त मागसँगै आन्दोलनरत पक्षले फागुन २६ गते चरणबद्धको आन्दोलन घोषणा गरेका छन्।