काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहमति विपरीत कसैले सिमेन्टको मुल्य बढी लिए सरकार कारबाही गर्न तयार रहेको बताएका छन्। मंगलबार मन्त्री भण्डारीको आग्रहमा सिमेन्टको मूल्य घटाउन संसदीय समितिमा भएको छलफलमा उनले सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले बढी भाउ लिएको भए सरकार कारबाही गर्न तयार रहेको बताएका हुन्।
तर उनले छलफलमा सिमेन्टको भाउ घटाउने निर्देशन भने दिन सकेनन्। मंगलबार बिहानदेखि साढे दुई घण्टा चलेको छलफलमा नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंह लगायतले सिमेन्टको भाउ अस्वाभाविक बढाइएका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको भन्दै बढाइएको भाउ अविलम्ब घटाइ उद्योगीलाई कारबाही गर्न माग गरे।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सिमेन्टको उत्पादन लागत सम्बन्धमा गठित अध्ययन समितिको पूर्ण प्रतिवेदन उद्योग मन्त्रालयसँग मागेपछि थप छलफल गर्ने निर्णय गरेको छ ।