म्याग्दी। लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ करिब पाँच बजे नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटना हुँदा १८ वर्षीय स्थानीय देविन बिक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। चार मध्ये दुई जना स्थानीय कविराज बिक र कमल बिक रहेका छन् भने अन्य मालिका गाउँपालिका–६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४,किस्मत बिक रहेको प्रहरीले जनाएको छ। घाइते चार जनाको लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि बेनी पठाइएको छ।