काठमाडौं। नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारसँग माग गरिएको छ। शुक्रबार काठमाडौँस्थित अर्थ मन्त्रालयमा पुगेर नेपालगन्ज उद्योग वाणिज्य संघले अर्थमन्त्री विष्णु पौडेललाई सुख्खा बन्दरगाह निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वमा बाँकेका जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।
भेटमा अर्थमन्त्री पौडेलले सुख्खा बन्दरगाह आवश्यक रहेको बताउँदै डीपीआर गर्न लगाउने बताए। । ज्ञापनपत्रमा नेपालगन्जको एकीकृत भन्सार जाँचचौकी (आइसीपी) लाई नै सुख्खा बन्दरगाहमा परिणत गरी वैदेशिक व्यापार व्यवसायलाई अभिवृद्धि गर्न भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण हुनसके तेस्रोे मुलुुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयात–निर्यात (पैठारी) सस्तो र सहज भइ पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक विकासमा ठुलो टेवा पुग्नेछ। नेपालगन्जमा हाल सञ्चालनमा रहेको आइसीपीको पूर्वाधारले तेस्रो मुलुकसँग हुने कारोबार गर्न सम्भव नहुने तथा पैठारी खर्च चर्को हुनाले लागत समेत बढ्न जाने हुँदा वैदेशिक व्यापारलाई सहज र सरल बनाउन पनि नेपालगन्जमा सुख्खा बन्दगाह अपरिहार्य छ ।’