काठमाडौं। म्यानमारमा गत चैत १५ गते गएको भूकम्प प्रभावितका लागि नेपाल सरकारले सहयोग गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमारमा राहत सामाग्री र नेपाली सेना पठाउने निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने, ‘मित्रराष्ट्र म्यानमारमा गएको विकाशकारी भूकम्पका कारण व्यापक धनजनको क्षति भएको सन्दर्भमा सहयोग गर्ने निर्णय भएको छ। नेपाल सरकारको विभिन्न निकायसँग रहेका मौज्दात सामग्री एवम् निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त हुने मेडिकल इक्युपमेन्ट, औषधि लगायतका राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्ने निर्णय भएको छ ।’
नेपाल सरकारका विभिन्न निकायबाट सहयोग पठाउनका लागि अर्थ मन्त्रालयबाट तत्ततत् निकायमा सोबापत सोध भर्ना निकासा दिने निर्णय पनि भएको उनले बताए । उक्त सामान नेपालबाट हवाइजहाजमार्फत ढुवानी गर्दा लाग्ने रकम अर्थले वायुसेवा निगमलाई निकासा गर्ने निर्णय पनि भएको छ ।
यसैगरी भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमा त्यहाँ जाने निर्णय भएको उनले जानकारी दिए।