बागलुङ । बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा ‘सघन सहरी विकास आयोजना’ सञ्चालनमा ल्याइएको छ । नगरको विकासलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, नगरको आफ्नै शासकीय क्षमता बढाएर चुस्त बनाउने लक्ष्यका साथ ‘सघन सहरी विकास आयोजना’ सञ्चालन गरिएको हो ।
पहिलो चरणमा आयोजनाअन्तर्गत वडा १ र २ जोड्ने सडकलाई व्यवस्थित र चौडा बनाएको छ । चालु वर्षभित्रै त्यस सडकलाई कालोपत्र गर्ने लक्ष्य पनि छ । त्यसबाहेक कोतघर जाने सडक कालोपत्र गर्ने, सहरी शासकीय क्षमता विकासका लागि वडा नम्बर ३ को भवन निर्माण र आयआर्जनका कार्यक्रमअन्तर्गत किसानका फर्म विस्तार, बजारीकरण र उत्पादन क्षमता बढाउन पहल गर्ने बताइएको छ ।
पूर्वाधारतर्फका धेरै काम चालु वर्षभित्रै सक्ने लक्ष्य छ । गल्कोटमा भवन निर्माण संहिता पालना गराउने, सडक मापदण्डलाई कायम गरेर भवन निर्माणको नक्सापास गराउन पहल गर्नेलगायतको काममा आयोजनाले साथ दिने बताइएको छ ।