मकवानपुर। हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्ट उत्पादन गर्न सुरु गरेको छ । करिब पाँच महिनादेखि बन्द रहेको उद्योगमा विद्युत् आपूर्ती भएसँगै पुनः सिमेन्ट उत्पादन कार्य सुरु भएको हो ।
उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा भएका कारण उद्योग बन्द भएको थियो । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।
उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए ।
विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा एक अर्ब ५० करोड लगानी गरिएको थियो ।