काठमाडौं। ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिर्दै सांसद प्रेमबहादुर आलेले पोखरा विमानस्थल दुर्दशाको कारण नियामक र सेवाप्रदायक एउटै व्यक्ति हुनु रहेको बताए । विसं २०८० साउन ९ गते क्यानको महानिर्देशकले धम्क्याएर ‘ग्राउण्डेड’ भएको जहाजलाई उडाएकाले दुर्घटना भएको उनले बताए ।
सांसद नागिना यादवले कर्मचारीका कमजोरी लुकाउने गरेकाले हवाइ दुर्घटना बढेको भनाइ राखे । ऐन बनाएरमात्र नहुने र कार्यान्वयन पनि सही रूपमा हुनुपर्ने उनको भनाइ थियो ।
सांसद बिराजभक्त श्रेष्ठले पोखरा र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाका बारेमा छानबिन गरी त्यसको प्रतिवेदन नआएसम्म निजगढ विमानस्थल बनाउन नहुने बताए । निजगढका लागि अहिले नै रुख काट्नेलगायत विषयमा बिचौलियाको चलखेल भइरहेको उनको आरोप छ ।