काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण गरेका छन् । आज बाँकेको राप्ती सोनारी गाउँपालिका पुगेका प्रचण्डले आइतबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
कटान तथा तटबन्धको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले तत्काल तटबन्धको काम पूरा गरेर सो क्षेत्रका जनतालाई डुबान र कटानको त्रासबाट जोगाउन आवश्यक रहेको बताए ।
उनले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरणका लागि उपलब्ध बजेटबाट काम अघि बढाउन तटबन्ध निर्माण आयोजना प्रमुखलाई निर्देशन दिँदै थप बजेटका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सो अवसरमा पूर्वमन्त्री माओवादी स्थायी समितिका सदस्य महेश्वर गहतराज अथक, पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमूना र वडा नम्बर सातका वडाध्यक्ष रामलखन थारूले राप्ती नदीले गर्दै आएको कटान, डुबानलगायतका समस्याका बारेमा अध्यक्ष प्रचण्डसमक्ष जानकारी गराएका थिए ।