मोरङ । कोशी प्रदेश सरकारमा आजदेखि दुईदिने लगानी सम्मेलन सुरु भएको हो ।प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुईदिने लगानी सम्मेलन आयोजना गर्दैछ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् ।
प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्नेछ। जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रहरू छन् । लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता हुने जानकारी दिएका छन् ।
सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ । साथै, पहिलो दिनको मुख्यसत्रमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरू बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने आयोजकले जनाएको छ ।