काठमाडौं । नक्सालस्थित बाल संगठन (बाल मन्दिर)को जग्गा हिनामिना प्रकरणमा संलग्न १७ जनाविरुद्ध मुद्दा दायर भएको छ । बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको घटनामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेसँगै बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो । तर महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयको राय उल्ट्याउँदै मुद्दा चलाउन निर्देशन दिने निर्णय गरेपछि मुद्दा दर्ता भएको छ ।
प्रतिवादीहरूमाथि बाल संगठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोप छ । उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रितासिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो ।
कार्यालयले रितासिंह वैद्यसहित उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध मुद्दा दायर गरेको छ ।
यस प्रकरणमा मुछिएका कांग्रेस नेता चिरञ्जीवी तिवारी, बाल मन्दिरका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र उपमहासचिव सुमन श्रेष्ठको भने मृत्यु भइसकेकाले मुद्दा दर्ता गरिएको छैन ।