काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो बताएका हुन् ।
उनले समावेशी, दिगो, प्रतिफल दिने र जनतालाई प्रत्यक्ष अनुभव गराउने बजेट आवश्यक भएको बताए। कृषिमा आत्मनिर्भरता विकास तथा रोजगारी सृजनामा बजेट केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । साथै उनले सीमित स्रोतबाट अधिक प्रतिफल दिने योजनामा बजेट परिचालन गर्नुपर्ने बताएका हुन् ।
“सीमित स्रोतबाट कसरी अधिकतम प्रतिफल लिने भन्ने चुनौती छ । नीतिगत स्पष्टता, कार्यान्वयन क्षमता वृद्धि र परिणाममुखी योजना देशको माग हो ।”, उनले भने ।
सांसद कार्कीले राजनीतिक अस्थिरता र नीतिगत अस्थिरतालाई आर्थिक विकासको प्रमुख बाधाका रुपमा चित्रण गर्दै स्थिर नीति नभएसम्म लगानी, कार्यान्वयन र प्रतिफल सुनिश्चित हुन नसक्ने बताए ।