काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार आयोगले पौडेलसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।
पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि, पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध मुद्दा दायर भएको छ ।
उनीहरुविरुद्धआर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको आरोप छ । उनीहरुमाथि जनही ५ करोड ७९ लाख बिगो दाबी समेत गरिएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष ०७५/०७६ मा खरिद गरिएका मुख्य उपकरणको विवरणहरू अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको र अनलाइनमा उल्लिखित मूल्यसूचीभन्दा बढीमा खरिद गरेको पाइएको उजुरी परेपछि आयोगले अनुसन्धान गरेर मुद्दा दायर गरेको हो ।