काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागरण अभियानको उद्देश्य माओवादीले अघि सारेका विकास निर्माणको अनुगमन गर्नु पनि रहेको बताएका छन् । अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा माओवादीले अघि सारेका विकास निर्माणका परियोजनाको अवस्थाको अनुगमन पनि अभियानको अर्को उद्देश्य भएको जानकारी दिएका हुन् ।
अन्तरसंवाद कार्यक्रममा उनले पार्टीलाई जनतासँग जोड्ने अभियान चलाएको बताए।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो। जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेका, गाउँगाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजनाको काम अझै रोकिएको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो ।