काठमाडौं । पूर्व प्रतिनिधिसभा सदस्य तथा निर्माण हरि रौनियारका बुहारी श्रुति रौनियार ठगीको आरोपमा पक्राउ परेकी छन्। पिसी इन्फोटेक प्रालिकी सञ्चालक समेत रहेकी रौनियारलाई बिहीबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी पर्सा पठाएको छ ।
उनविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको एसपी काजीकुमार श्रेष्ठले जानकारी दिए । रौनियारमाथि ४ करोड ३२ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। धनुषास्थित रमण र विकास एन्ड ब्रदर्स जेभीका तर्फबाट अख्तियार प्राप्त अरूणकुमार शाहले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए।
शाहले गएको चैत २२ गते श्रुति रौनियारविरुद्ध जाहेरी दिएका थिए। सो जाहेरीका आधारमा प्रहरीले चैत २६ गते जिल्ला अदालत पर्साबाट पक्राउ अनुमति लिएको थियो।
पक्राउ पुर्जी रौनियारसहित दुई जनामाथि जारी भएको थियो। त्यसपछि सर्कुलर जारी गर्दै खोजी गर्दा उनी काठमाडौंबाट पक्राउ परेकी हुन्।