काठमाडौं । सरकारले निर्माण व्यवसायसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को सोमवारको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
त्यसैगरी मन्त्रिपरिषदले आगामी असार १० देखि १२ सम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । आगामी असार २ गतेदेखि ६ गतेसम्म ल्हासामा आयोजना हुने नेपाल–चीनको सिजाङ तिब्बत व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।
सरकारले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने भएको छ । मन्त्रिपरिषद् निर्णय अनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ । यस्तै दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुनेछ ।
त्यसैगरी सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ श्ययाबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बताए ।
सरकारले २०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने ‘मुनि वल्र्ड एक्स्पो–२०२५’ मा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए।
त्यसैगरी नेपाली सेनाका एकजना महासेनानीको सरूवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एक जना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको पनि उनले बताए।