सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका–२ मा निर्माणाधीन राष्ट्रियस्तरको रग्बी रंगशालाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । करिब ३.५ बिघा क्षेत्रफलमा फैलिएको रंगशाला नेपालकै पहिलो राष्ट्रियस्तरीय रग्बी रंगशाला बन्ने तयारीमा छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिनेछ ।
रंगशालाको निर्माण कार्य राष्ट्रिय खेलकुद परिषद (राखेप), मधेस प्रदेश सरकारअन्तर्गतको खेलकुद मन्त्रालय र हरिपुर नगरपालिकाको सहकार्यमा अगाडि बढाइएको हो ।
तीन वर्षे योजनाअन्तर्गत निर्माण भइरहेको यस रंगशालाको हालसम्म माटो भराइ (फिलिङ) कार्य र चारैतिर तार जालीले घेरिएको कम्पाउन्ड निर्माण सम्पन्न भइसकेको छ ।
योजनाअनुसार रंगशालाभित्र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रग्बी मैदान, दर्शकदीर्घा, प्रशिक्षण केन्द्र, खेलाडी आवासगृह र अन्य आवश्यक सहायक संरचनाहरू निर्माण गरिनेछ ।
हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजियारका अनुसार यो रंगशाला केवल हरिपुरकै नभई सम्पूर्ण मधेस प्रदेशकै पहिचान बन्नेछ । ‘रग्बी जस्तो तीव्र र प्रतिस्पर्धात्मक खेललाई गाउँ गाउँसम्म पुर्याउने माध्यम यही रंगशाला हुनेछ,’ उनले भने ।
त्यस्तै, रंगशाला निर्माण भइरहेको स्थान वडा – २ का वडा अध्यक्ष निलबिक्रम थापाले पनि यस रंगशाला राष्ट्रकै लागि उदाहरणीय हुने बताएका छन् ।
स्थानीय युवा र खेलप्रेमीहरू पनि रंगशालाको निर्माणप्रति निकै उत्साहित देखिएका छन् । उनीहरूका अनुसार यो परियोजनाले खेलकुद पर्यटनको विकाससँगै स्थानीय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्नेछ ।
नेपाल रग्बी संघ मधेस प्रदेश अध्यक्ष रन्जित साहका अनुसार आगामी तीन वर्षभित्र मैदान, स्ट्यान्ड र सुविधा सम्पन्न संरचनासहित पूर्ण रंगशाला तयार पार्ने लक्ष्य छ ।