काठमाडौं । जिल्ला प्रशासन कार्यालय खोटाङले सुनकोशी नदीका तटीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी असार–७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीसमेतमा आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।
सुनकोशीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका भूभाग छोएर बगेको छ । चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार–६ गते सार्वजनिक सूचना जारी गरेको हो ।