काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक जेल हालेको आरोप लगाएका छन् । लामिछानेले आफूलाई विगतमा कांग्रेसबाट प्रधानमन्त्री नै बन्ने अफर आएको दाबी गर्दै किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा दण्डपूर्वक जेल हालिएको समेत बताएका छन् ।
पार्टी स्थापना दिवसका अवसरमा थुनाबाटै सन्देश जारी गर्दै लामिछानेले आफू सत्तालोलुप नभएको बताउँदै सत्ताको नेतृत्व गर्ने प्रस्ताव त्यागेको दण्डस्वरूप थुना ब्यहोर्नुपरेको बताएका हुन्।
‘एकाथरी आलोचकहरू मलाई सत्तालोलुपको आरोप लगाउँछन्। म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अबसर आयो, होइदिउँ न भनेको भए कसले रोक्थ्यो र?,’ सन्देशमा उनले भनेका छन्।
लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले खडा भएको छानबिन समितिको बाह्रसय पृष्ठको प्रतिवेदन आफ्ना विरुद्ध मात्र कार्यान्वयन भएको समेत आरोप लगाएका छन् ।
उनले आफूमाथि कानुनअनुसार चल्नैनपर्ने र चल्न नहुने मुद्दासमेत लगाइएको भन्दै आपत्ति जनाएका छन् । उनले अहिले सत्तामा बेथितिका बाहकहरु रहेको भन्दै उनीहरुलाई अनुरोध गरेर, निवेदन गरेर देशमा सुशासन र विधिको शासन नआउने भन्दै थप संघर्षका लागि आह्वान गरेका छन् ।
लामिछानेले रास्वपाको उदयबाट अत्तालिएका पुराना शक्तिहरूले आफूलाई सिध्याउन भयानक षड्यन्त्र रचेको उल्लेख गरेका छन्। ‘छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन,’ उनले भनेका छन्, ‘जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’
उनले आफूविरुद्ध प्रहरी, प्रशासन र न्यायपालिकाकै दुरुपयोग भएको दाबी गरेका छन्। मध्यरातमा बलपूर्वक पक्राउ गरिएको, कानूनको हदम्याद नाघेर मुद्दा चलाइएको र आफूमाथि मात्रै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोग लगाएर प्रतिशोध साधिएको उनको जिकिर छ।
लामिछानेले आफूले कुनै सहकारीबाट एक पैसा पनि नलिएको र आफ्नो नाममा कुनै ऋण वा सवारी साधनसमेत नभएको स्पष्ट पारेका छन्।
रास्वपाले तेस्रो वार्षिकोत्सव मनाइरहेका बेला सभापति लामिछानेको अपिल उनको सचिवालयमार्फत सार्वजनिक गरिएको हो।