बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । जमैनीको नगरपालिकाका प्रमुख नरबहादुर पुनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ग्रामीण क्षेत्रमा बाँदर आतङ्कका न्यूनिकरण गर्न बाँदर बगैंचा निर्माण गर्ने जानकारी दिएका छन् ।
प्रमुख पुनका अनुसार वडा नं ८ पुरानो गाउँमा ‘बाँदर बगैंचा’ बनाइने भएको छ । त्यसैगरी युवालाई कृषिमा आकर्षण गर्न र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ ।
नगरपालिकाले उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एमबुलेन्स सञ्चालन समेत गर्ने भएको छ ।
‘छोरी जन्मे घर, खुसीको लहर’ भन्ने मूल नारासहित सञ्चालन भएको जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । छोरी जन्मेमा जन्मदर्ता गर्दा रु दुई हजार ५०० को खाता खोलिदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाभित्र रहेका घरबारविहीनलाई घर बनाइ दिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ। फूसका छाना विस्थापन कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सुकुम्बासी समस्या समधानका लागि आवश्यक प्रक्रिया पूरा गरी यसै वर्ष नगरपालिकालाई सुकुम्बासीमुक्त पालिका घोषणा गरिने भएको छ ।
नगरपालिकाले विद्यार्थीलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजाका लागि एक वडा, एक आवासीय माध्यमिक विद्यालय एक विद्यालय एक करेसाबारी बनाउने गरी ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।