काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यसकारण बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ । माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ । हामीलाई लगानीको आवश्यकता रहेको छ । यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ । लगानीको आवश्यकता विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ ।’
प्रधानमन्त्री ओलीले मिथेन ग्यासको परीक्षण उत्पादनपछि आगामी आर्थिक वर्षभित्र व्यवसायिक उत्पादन भइसक्ने समेत बताएका छन् ।
राज्यका सबै निकायहरूलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारी रुपमा काम गरेर जनअपेक्षा अनुरूप सम्मुनतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको समेत उनको भनाइ छ ।