काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहमध्ये १२ ले समयभित्र नै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। जिल्लाको पनौती नगरपालिकाले बाहेक सबै पालिकाले समयभित्र बजेट सार्वजनिक गरेका हुन् ।
जिल्लाको धुलिखेल नगरपालिकाले असार ५ गते नै रु अर्ब १८ करोड ४८ लाख ५० हजार, असार ६ गते बनेपा नगरपालिकाले रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६, असार ९ गते नमोबुद्ध नगरपालिकाले रु ८० करोड ७३ लाख २३ हजार १६० तथा महाभारत गाउँपालिकाले रु ६० करोड १३ लाख एक हजारको बजेट गाउँसभामा प्रस्तुत गरेका छन् ।
मंगलवार पाँचखाल नगरपालिकाले रु ८२ करोड ५१ लाख ८४ हजार ८०२ र मण्डनदेउपुर नगरपालिकाले रु एक अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ को बजेट सार्वजनिक गरे ।
यस्तै रोशी गाउँपालिकाले रु ७२ करोड चार लाख ३७ हजार, बेथानचोकले रु ६४ करोड ७३ लाख पाँच हजार २४३, भुम्लुले रु ६२ करोड ९१ लाख ३९ हजार र चौरीदेउरालीले रु ६९ करोड पाँच लाख पाँच हजारको बजेट आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेका हुन् ।
यसैगरी तेमाल गाउँपालिकाले रु ५३ करोड १२ लाख ६४ हजार ६४० र खानीखोलाले रु ५२ करोड २३ लाख ३२ हजार ३५३ को बजेट प्रस्ताव गरेका छन् । आन्तरिक आय कमजोर भएका जिल्लाका स्थानीय तहले भने सङ्घीय समपूरक र विशेष अनुदानकै आधारमा बजेट निर्माण गरेको जनाएका छन् ।