हेटौंडा । हेटौंडा उपमहानगरपालिका– ४ का वडाअध्यक्ष नवीन सिग्देलमाथि एक महिला निर्माण व्यवसायीले हातपात गरेकी छन् ।
हेटौंडा क्याम्पस अगाडि ढल निर्माण स्थलबाट निस्किएको माटोलाई ४ नम्बर वडाकै श्रमिक माविको परिसरमा भएको खाडल पुर्न प्रयोग गर्न अध्यक्ष सिग्देलले आग्रह गर्दा निर्माण व्यवसायी मञ्जु लामाले माटो अन्यत्रै लैजाने बताएपछि विवाद भएको र सोही क्रममा लामाले कुटपिट गरेको उपमहानगरले जनाएको छ ।
प्रहरीका अनुसार वडाध्यक्षमाथि कुटपिट गर्ने निर्माण व्यवसायी लामा काभ्रेको रोशी गाउँपालिका–११ की बासिन्दा हुन् । उनलाई घटना लगत्तै पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । लामाविरुद्ध वडाध्यक्ष सिग्देलले जाहेरी दिएका छन् ।