काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आवासीय घर कर्जाको सीमा बढाएर ३ करोड पुर्याउन सुझाव दिएको छ ।
मंगलवार महासंघ कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वको पदाधिकारी टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिका लागि सुझाव पेश गर्दै आवासीय घर कर्जाको सीमा बढाएर ३ करोड पुर्याउन सुझाव दिएको हो ।
अर्थतन्त्रमा देखिएको शिथिलता, वित्तीय क्षेत्रको जोखिम र अनौपचारिक क्षेत्रको ठूलो हिस्सालाई केन्द्रविन्दुमा राख्दै अर्थतन्त्रलाई गति दिने नीतिगत सुधारको आवश्यकतामा जोड दिएको छ ।
सुशासन र पूर्वाधार कमीले नीतिगत सुधारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै महासंघले मौद्रिक नीतिका मुख्य सुझावमा पूर्वाधार निर्माण लक्षित गरी मौद्रिक नीतिगत योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएको महासंघ कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए ।
महासंघले बजेटमा उल्लेखित कर्जा पुनर्तालिकीकरण र पुनर्संरचनाको व्यवस्था कार्यान्वयन गर्न ठोस कार्यक्रम समावेश गर्नुपर्ने र यो सुविधा साना, मझौला र ठूला सबै उद्योग–व्यवसायका लागि उपलब्ध गराउनुपर्ने माग राखेको छ ।
थप कार्यशील पूँजी प्रवाह र ब्याज जरिबानामा सहुलियत व्यवस्थालाई स्पष्ट र प्रभावकारी रूपमा लागू गर्नसमेत महासंघले केन्द्रीय बैंकलाई सुझाएको छ ।