काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको भौतिक संरचनाको पुनर्निर्माणमा चीन सरकारले सहयोग गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्गबीच सोमवार भएको भेटमा चिनियाँ टोलीले पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने प्रतिबद्धता जनाएको मन्त्री पौडेलको सचिवालयको प्रेस नोटमा उल्लेख गरिएको छ
भेटमा अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद व्यक्त गरेका छन् ।
गत असार २४ गते तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोलाको बाढी भोटेकोशी नदीमा मिसिएपछि ठूलो धनजनको क्षति भएको थियो । ६ चिनियाँ नागरिकसहित १७ जना बेपत्ता छन् भने ११ शव तथा मानवअंग फेला परेका छन् ।