काठमाडौं । गत असार २४ गते आएको बाढीका कारण रसुवमा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा २१ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
परियोजना निर्माण गरिरहेको तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर याङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबीचको छलफलमा १ अर्ब बराबरको क्षति भएको जानकारी गराइएको हो ।
बाढीले भोटेकोशी नदीतर्फ लगाइएको रिटेन्सन पर्खाल ४ सय मिटर भत्किएको म्यानेजर लीले बताए।
२ सय ५० युनिट सवारीसाधन पार्किङ गर्न मिल्ने गरी बनाइएको कंक्रिट ढलान पूर्णरूपमा क्षति भएको छ । २ वटा गोदाममा माटो र ढुंगा भरिएको छ । २ वटा लोडिङ÷अनलोडिङ सेडमा क्षति पुगेको छ । यीसमेत कुल १ अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले बताएका छन् ।
बन्दरगाह निर्माणमा खटिएका कामदारमध्ये १४ चिनियाँ र ८ नेपाली कामदारको मृत्यु भएको समेत उनले बताए । सुक्खा बन्दरगाह परिसरमा बनाइएका संरचनामध्ये प्रशासनिक भवनमात्र ठिक अवस्थामा रहेको उनले बताए ।
यो आयोजना चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । आयोजना लागत २ अर्ब १६ करोड रहेको छ ।