बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियास्थित राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउने उद्देश्यले ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधि प्रयोग गरी आपत्कालीन तटबन्ध निर्माण गरिएको हो ।
तटबन्ध निर्माणले बाढीको जोखिम घटेको र यस वर्ष बस्ती जोगिने विश्वास स्थानीयले गरेका छन् । जनताको तटबन्ध कार्यालयको पहलमा तीन वर्षअघि भत्किएको तटबन्धको मर्मत र नयाँ निर्माण कार्य गरिएको हो । २०७१ को बाढीपछि खल्ला झगडियासहित दर्जनौं गाउँ डुबानको जोखिममा थिए ।
६ करोड ५० लाख रुपैयाँ लागतमा पक्की तटबन्ध निर्माणको ठेक्का स्वीकृत भएको छ । खल्ला झगडिया र जरैयामा आपत्कालीन तटबन्ध बनाइएको र वर्षापछि स्थायी तटबन्ध निर्माण प्रक्रिया सुरु हुने बताइएको छ ।